भदौ १६ ,चितवन :करिब दुई महिनाअघि टाटा कम्पनीको सिङ्गल क्याबको योद्धा गाडीले भरतपुरको सतनचुली वनबाट काठ तस्कर गरेको सिसिटिभी क्यामेराबाट देखियो । रातको समयमा अगाडीपट्टी मोटरसाईकलको स्कर्टिङ गरेर सालको काठ लैजादै गरेको दृष्य आँपटारीमा रहेको सिसि क्यामेराले कैद ग¥यो । दुई पटकसम्म सजिलै काठ तस्करी गरेको देखिएपनि फेला पार्न नसकेपछि गस्ती कडा पारियो । शनिबार राति दुई बजे काठ गाडीमा लोड गरेको अवस्थामा सामुदायिक वनको हाताबाट फेला पर्यो । सिसिटिभी क्यामेरामा देखिएको गाडीसँग आज नियन्त्रणमा लिएको गाडीको हुलिया मिलेपछि यसअघि पनि तस्करी गरेको गाडी तेस्रो पटकमा समातिएको हो ।
करिब ३५ क्यूफिट सालको काठ सहित बा. २१ च २१४० नम्बरको गाडी नियन्त्रणमा लिइएको हो । सुराकीको आधारमा गाडी पक्राउ गरेको सतनचुली सामुदायिक वनका परिषद् अध्यक्ष हरेन्द्रकुमार केसीले बताए । ‘यो गाडी पहिला पनि काठ तस्कर गरेको भन्ने कुरा आएको छ’, उनले भने, ‘टोली बसेर घेरा हालेर गाडी समाउन सफल भयौ ।’
डिभिजन वन कार्यालय , सामुदायिक वनका पदाधिकारी, रामनगरको प्रहरी चौकी र वनरक्षकको टोलीले घेरा हालेर गाडी समातेका हुन् । टोली विभाजन गरेर देवघाट र ठिमुराबाट घेरा हालेका थिए । ‘अहिले समातिएको गाडी र सिसिटिभी क्यामेरामा देखिएको गाडी निलो त्रिपाल हालेको सबै देखिएपछि त्यही गाडी हो भन्ने हाम्रो बुझाई हो’, डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी बालकृष्ण खनालले भने, ‘ अब यसलाई सोधखोज गरेपछि विस्तृत कुरा थाहा हुन्छ । घटनास्थलमा काठ कटान भएको हेरेपछि के कति रहेछ भन्ने थाहा हुन्छ । हामी अनुसन्धान अघि बढाउदै छौं ।’
गाडीका चालक र काम गर्ने व्यक्ति भने फरार रहेका छन् । गाडीमा अनिल तुम्सिङ मगरको नाममा रहेको सवारी चालक अनुमति पत्र र भीम कुमार महर्जनको नाममा रहेको गाडीको बिलबुक फेला परेको छ । सामुदायिक वनले आवश्यक अनुसन्धानका लागि काठ सहितको गाडी अनुसन्धानका लागि जिल्ला वन कार्यालयलाई बुझाएको छ ।

तपाईको प्रतिक्रिया