बेनी : म्याग्दीको बेनी –३ दूधेखोलामा आइतबार बिहान आएको बाढीले एक घर बगाएको छ। ४५ घर जोखिममा परेको छ। भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाएको हो। बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको वडा सदस्य गेमप्रसाद घर्तिले बताए।

बाढीका कारण बेनी नगरपालिका र मंगला गाउँपालिकाको चार वटा वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बरंजा सडक अवरुद्ध भएको छ।

सडक अवरुद्ध हुँदा भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाडा र बरंजा सिधा यातायात सम्पर्क बिच्छेद भएको छ। सो क्षेत्रका कृषकलाई बेनीमा दूध ढुवानी गर्न समस्या भएको छ। खानेपानी र सिचाईको पाइप बाढीले बगाएको छ। हल्लेगौडाको पहिरोका कारण दूधेखोला–हल्लेगौडा–डाडाखानी हुँदै भकिम्ली जोड्ने सडक गत जेठ देखि नै अवरुद्ध छ।

( यो समाचार अन्नपूर्ण पोष्ट दैनिकका लागी सन्तोष गौतमले लेखेका हन् )

तपाईको प्रतिक्रिया