भदौ ६, चितवन । कालिका नगरपालिकाको खोलेसिमलमा रहेको कालिका अस्पतालको स्तरोन्नतिका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चासो देखाएका छन् । उनले अस्पताललाई पच्चिस शैयामा स्तरोन्नति गर्न आफू तयार रहेको भन्दै प्रक्रिया थाल्न उनले व्यवस्थापन पक्षलाई सुझाव दिएका छन् । नमूना अस्पताल बनाउने शर्तमा मात्रै मन्त्रालयले सहयोग गर्ने उनको भनाइ थियो ।

आइतबार अस्पतालको निरीक्षण गर्ने पुगेका उनले अस्पताललाई नमूनाको रूपमा विकास गर्न आफ्नो सक्दो सहयोग रहने विश्वास दिलाएका हुन् । “मन्त्रालय को वास्केटमा पैसा छ । प्रक्रिया पुर्याएर आउनुस् । २५ शैयाको अस्पतालको लागि मन्त्रीको तर्फबाट गर्ने कार्य सबै गर्नेछु”, राज्यमन्त्री श्रेष्ठले भने, “तर अस्पताल भने नमूना बनाउनु पर्छ ।” मन्त्रीले कोभिड संक्रमितको उपचार निशुल्क गरेकोमा अस्पताल परिवार र नगरपालिकालाई धन्यवाद पनि दिए ।नेपाली काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठलेस्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई लिएर गएका थिए । विकट र पिछडीएका बस्तिको बाहुल्यता भएको क्षेत्रको अस्पतालको सेवालाई थप विस्तार गर्न आवश्यक रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको सभापति श्रेष्ठले बताए ।

अस्पतालका पूर्व अध्यक्ष शिवप्रसाद पौडेलले भने राज्यमन्त्रीले दिएको प्रतिबद्धता अनुसार काम भए अस्पतालको सेवाले फड्को मार्ने बताए । “यो अस्पताल गाउँको अस्पताल हो । सत्तरी प्रतिशत भन्दा बढी पूर्जा विहीन नगरबासीले सेवा लिन्छन्”, पौडेलले भने, “मन्त्रीज्यूको आश्वासनले हामी उत्साहित भएका छौं । काम हुनेमा ढुक्क छौ ।”

जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर पन्ध्र शैयाको अस्पताल बनाइएको हो । शनिवार चितवन आएका स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जिल्लाका अस्पताल तथा स्वास्थ्य चौकीको निरीक्षण गरिरहेका छन् । आइतवार नै उनले भरतपुर अस्पतालको निरीक्षण गरेका थिए । त्यस क्रममा उनले अस्पतालको सेवाको बारेमा जानकारी लिँदै प्रभावकारी सेवाको लागि निर्देशन दिएको अस्पतालका व्रिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया