चितवन : नेपाली कांग्रेस पार्टीमा लामो समयदेखि सक्रिय पृथ्वीमान गुरुङ कांग्रेसभित्र इमान्दार नेताका रूपमा चिनिन्छन् । उनको जन्म वि.सं. २००६ साल माघ २५ गते कास्कीको घलेलमा भएको हो । उनका बुबा जगत प्रसाद गुरुङ हुन् भने आमा पदमा कुमारी गुरुङ हुन् । १८ वर्षको उमेरदेखि नै उनी राजनीतिमा सक्रिय हुन थालेका थिए । २०२४ सालमा काठमाण्डौँमा कांग्रेस निकटको गण्डकी छात्र संघको सदस्यका रूपमा उनले राजनीति सुरुवात गरे । त्रिभुवन विश्वविद्यालयबाट एमएससी गरेका उनलाई २०३४ सालमा विपी कोइरालाले पाटीको संगठन विस्तारसँगै प्राध्यापनका लागि पोखराको पृथ्वीनारायण क्याम्पसमा पठाएका थिए । कांग्रेस भएकै आधारमा उनलाई त्यहाँबाट २०३५ सालमा निस्कासन गरियो । २०३६ सालको जनमत संग्रहमा कास्कीमा बहुदलले दश हजार मतान्तरले जितेकोमा जालसाजी गरेर हराएपछि उनी काठमाण्डौ गएका थिए । २०४२ सालपछि भने उनले चितवनमै बसेर राजनीतिलाई थप सक्रिय बनाए । त्यस बखत उनले पाटीको जिल्ला सहसचिव र सचिवको जिम्मेवारीमा रहेर काम गरेका थिए । २०४८ सालमा संसदीय निर्वाचनमा कांग्रेसबाट चितवन क्षेत्र नम्बर ३ मा उमेद्वारी दिएका गुरुङ तत्कालीन जनमोर्चा नेपालका अमिक शेरचनसँग पराजित हुन पुगे । शेरचनलाई अहिले उनीसँगै लुम्बिनी प्रदेश प्रमुखका लागि सरकारले सिफारिस गरेको छ । चितवन कांग्रेसका पूर्वसभापति रहेका गुरुङ २०४९ सालमा सुकुम्बासी समस्या समाधान आयोगको केन्द्रीय सदस्य र २०७४ सालको निवार्चनमा पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार बनेका थिए । पार्टीमा सधै इमान्दारपूर्वक खटिएका गुरुङ विभिन्न समयमा महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि पनि भएका थिए । उनको निवास हाल भरतपुर महानगरपालिका वडा नं. २४ दिव्यनगरमा रहेको छ ।

तपाईको प्रतिक्रिया