महेश ढकाल असार ७, चितवन । पूर्वी चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पूर्वी चितवनको जनकौली सामुदायिक वनमा सोमबार मध्याह्न बाघको आक्रमणबाट रत्ननगर नगरपालिका वडा नं ५, मगरटोलकी ३५ वर्षीया गीता अधिकारीको ज्यान गएको हो । घरपछाडिको जंगलमा बाख्राका लागि घाँस काट्न गएकी उनलाई बाघले तानेर लगेको वडाध्यक्ष कृष्ण महतोले बताएका छन् ।जनकौली मध्यवर्ती सामुदायिक वन भित्र निउरो टिप्न गएको बेला बाघले आक्रमण गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

निकुञ्जले हात्ती नपठाँउदा अधिकारीको खोजी गर्न नसकिएको वडाध्यक्ष महतोले बताएका छन् । मृतक अधिकारीको शवको अवशेष मात्रै फेला परेको उनले जानकारी दिए । बाघले मान्छे मारेपछि शवको खोजी गर्न निकुञ्जले चासो नदेखाएको भन्दै स्थानीयले निकुञ्जको पूर्वी सेक्टरको कार्यालयमा तोडफोड समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया