करिब तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा काम गरेर प्रदीप ज्ञवाली शुक्रबार विदा भएका छन्। मन्त्रिपरिषद हेरफेर हुँदा उनले पद छाड्नुपरेको थियो।

उनको ठाउँमा नेकपा एमालेकै रघुवीर महासेठ मन्त्री भएका छन्।

जाँदाजाँदै ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। यो तीन वर्ष अवधिमा उनले विदेश भ्रमणवापत् तीन लाख १४ हजार ९३० रूपैयाँ आम्दानी भएको देखाएका छन्।

पारिश्रमिकवापत् ज्ञवालीले ६ लाख २० हजार आम्दानी भएको जनाएका छन्।

उनले पार्टीको खातामा भएको र पारिश्रमिकको कर कट्टी तीन लाख ७२ हजार ४९१ रुपैयाँ रहेको बताएका छन्।

हाल उनको खातमा ७ लाख ४१ हजार ७७५ रूपैयाँ बचत रहेको उल्लेख गरेका छन्।

‘केही घरायसी सामान र दुई सयजति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु,’ ज्ञवालीले ट्वीटरमा लेखेका छन्।

यो अवधिमा आफूले प्रयोग गर्दै आएको सवारी साधन, ल्यापटप शुक्रबार नै मन्त्रालयलाई फिर्ता गरेको ज्ञवालीले बताएका छन्। पुल्चोस्थित सरकारी आवास शनिबार बिहान छोडेका छन्।

प्रधानमन्त्री केपी ओलीलाई उनले आभार प्रकट गरेका छन्।

आफ्नो कार्यकालमा जोडिएका व्यक्ति तथा संस्थालाई उनले सम्झिएका छन्।

तपाईको प्रतिक्रिया