माडी, चितवन । २०७८/२/७
रोटरी क्लब अफ नारायणगढ र बेलायतका दुईवटा रोटरी क्लबहरुले सयूक्तरूपमा आज माडीको बघौंडा अस्पताललाई माडी नगरपालिकाका उपमेयर ताराकुमारी काजी महतो हस्ते ठूला क्षमताका पाँचवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग प्रदान गरेको छ ।
रोटरी क्लब अफ नारायणगढ र बेलायतको रोटरी क्लब अफ लिमाभाडी एवं रोटरी क्लब अफ लण्डन डेर्रीले पाँचलाख पच्चिस हजार रुपैया बराबरका २० वटा सिलिण्डरलाई पुग्ने क्षमतायुक्त पाँचथान अक्सिजन कन्सन्ट्रेटर मेसिनहररू सहयोग उपलब्ध गराएको हो । माडी क्षेत्रमा कोरोनाका बिरामीहरु बढ्दै गएको र माडीको बघौंडा अस्पतालले कोभिड १९ का बिरामीहरुको उपचारका लागि छुट्टै आइसोलेसन एवं फिभर क्लिनिक सञ्चालन गरेको सन्दर्भमा सो सहयोग प्रदान गरिएको नारायणगढ रोटरी क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर ई. गुणेश्वर महतोले जानकारी दिनुभयो ।
यसैबिच उपमेयर ताराकुमारी काजी महतोको उपस्थितिमा ई. महतो सम्मिलित पहल नामको गैर नाफामूलक कम्पनीले माडी क्षेत्रमा रहेका ६ वटै एम्बुलेन्सका चालकहरुलाई पि.पि.ई. लगायतका सुरक्षा सामग्रीहरु समेत सहयोग गरेको छ । एम्बुलेन्स चालकहरुका लागि पि.पि.ई., साबुन, मास्क, स्यानिटाइजर, तुथपेस्ट, ब्रस, ग्लोब्स आदि सामग्रीहरु प्रदान गरिएको इन्जिनियर गुणेश्वर महतोले बताए ।

तपाईको प्रतिक्रिया