चितवन : कोरोना संक्रमणका कारण भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको छ। उपचारको क्रममा उनको  भरतपुर अस्पतालमा आइतबार निधन भएको अस्पतालका कोभिड-१९ संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए।

६९ वर्षीय तामाङ उच्च रक्तचाप र मधुमेह रोगी थिए। तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज २३ गते अस्पताल भर्ना गरिएको थियो।

कोरोना संक्रमण भएपछि निमोनिया भएको थियो। उनलाई दश दिनअघि कोरोना संक्रमण भएको थियो। उपचारबाट निको भएपछि घर फर्किएका उनलाई स्वास्थ्यमा थप समस्या भएपछि शुक्रबार फेरि अस्पताल भर्ना गरिएको थियो।

वडाध्यक्ष तामाङको निधनप्रति भरतपुर महानगरपालिकाले दुःखव्यक्त गरेको छ। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए। तामाङको सम्मानमा भरतपुर महानगरपालिका र मातहतका कार्यलय सोमबार एकदिन बन्द रहने जनाएको छ।

तपाईको प्रतिक्रिया