भरतपुर ,चितवन : कोरोना संक्रमण भएपछि छोरी आइसोलेसनमा बसेकी थिइन । घरमै क्वारेन्टाईनमा बसेकी भरतपुर महानगरपालिका ७ की ४२ वर्षकी महिलालाई कोरोनासंग मिल्ने लक्षण देखियो । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या आएपछि महिलालाई अस्पताल जान समेत समस्या भयो । परिवारको एक सदस्यलाई संक्रमण पुष्टि भएपछि हत्तपत्त कोही जान मानेनन् । तीन दिनदेखीको अवस्था वारे पाउने वित्तिकै कृष्णपुर रेडक्रसका सभापति कृष्ण ढकाललाई त्यसै बस्न मनले मानेन । तत्काल उनी चितवन मेडिकल कलेजबाट एम्बुलेन्स लिएर विरामी लिन पुगे । विरामीलाई अस्पताल आउन समस्या भएपछि उनी आफै खटिएर अस्पताल ल्याएका थिए । ‘ रेडक्रसको मानविय नाताले उपचार नपाएको सुन्न सकिन । त्यसैले सावधानी अपनाएर अस्पताल ल्याए ’ ढकालले भने ‘अस्पताल लाने मान्छे नभएर घरमै छटपटिएको सुनेपछि अरु केही सोच्नै सकिन । ’
स्वाब परिक्षण गर्दा उनको नेगेटिभ आयो । उनले आफ्नो नाम भने बताउन चाहिनन् । घरमा कोही नहुँदा परेको आपतमा सहयोग पाएको भन्दै खुसी ब्यक्त गरिन । अहिले उनको अवस्था सामान्य छ । उनका श्रीमान पढाउनका लागी सुदुर पश्चिममा छन । एक दिन अस्पतालमा उपचार गरेर घर फर्किएकी थिईन ।
कृष्णपुर रेडक्रसका पूर्व सभापति काशीराम अधिकारीले कोरोना संक्रमणको आशंका गरिएको विरामीको सेवा गरेर रेडक्रस सभापतिले मानविय सेवामा उदाहरणीय काम गरेको बताए । ‘ सबै डराएको समयमा एउटा साहस बटुलेर मानविय सहयोग गर्नुभएको छ ’ अधिकारीले भने ‘ हामी रेडक्रसक्रर्मी यस्तै विपरतमा खटिने हो , यो सामाजिक उदाहरणको रुपमा लिन्छु । ’

तपाईको प्रतिक्रिया