सिन्धु ढकाल चितवन  । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले पार्टी सुदृढीकरणको लागि विपी कोइरालाको विचार र सपनालाई पछ्याउनुपर्ने बताएका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) भरतपुर महानगरपालिका नगर समन्वय समितिले विपी कोइरालाको ३८औं स्मृति दिवसको अवसरमा मंगलबार भरतपुर १८ गुञ्जनगरमा आयोजना गरेको विचार गोष्ठीमा बोल्ने नेता तथा कार्यकर्ताहरुले विपी कोइरालाको सम्मानको लागि विपीकै विचारलाई पछ्याउन आवश्यक रहेको बताएका हुन्।

पछिल्लो समय कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको गुटउपगुटले पार्टीलाई नै अप्ठ्यारोमा पारेकोले विद्यार्थी संगठनलाई मिलाएर लैजान केन्द्रीय नेतृत्वलाई आग्रह गरेका छन्। ‘अहिले एउटै जिल्लाभित्र एउटै संगठन पनि धेरैजनाको नेतृत्वमा छ,’ विद्यार्थी नेता तथा नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि वचन कार्कीले भने, ‘पार्टी बलियो बनाउन संगठन बलियो बनाउनुपर्छ’
भरतपुर महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष कर्णबहादुर गुरुङले पदीय लोभका कारण पार्टीभित्रै विखण्डनको अवस्था सिर्जना भएको बताए।‘स्वर्गीय नेता कोइरालाको विचारलाई कार्यान्वयन गर्न सकेको भए यस्तो हुने थिएन होला’, उनले भने, ‘नेतृत्वले पनि कार्यकर्ताप्रति माया र सद्भाव देखाउन सक्नुपर्छ। विपीको सम्झनामा पार्टीले गर्नुपर्ने कार्यक्रम विद्यार्थीले गरेको भन्दै विद्यार्थी संगठनलाई धन्यवाद दिए।

स्थानीय नेता सोम भण्डारी नेपाली कांग्रेस भन्नुभन्दा पहिले सामाजिक कांग्रेस बन्न सक्नुपर्ने बताए। भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले विपीका कार्यकर्ता भएकोले विपीको सपना पूरा गर्ने जिम्मा पनि कांग्रेसको कार्यकर्ताको काँधमा रहेको बताइन्। तर, पछिल्लो समय विपीले देखाएको बाटो नहिँडेर अन्तै मोडिएको हो कि भन्ने महसुस गराएको उनको भनाइ छ।
संविधान सभा सदस्य अञ्जनी श्रेष्ठले विपी मात्र नभई पार्टीका पूर्व सभापति र अग्रज नेताहरुको योगदानकै कारण पार्टी यहाँसम्म आइपुगेको बताइन्। तर, अबका दिनमा पार्टीलाई बचाएर मात्रै नहुने बताइन्। ‘अब हामीले हामी कांग्रेस हौँ भनेर चिनाउन गौरवपूर्ण काम गर्नु आवश्यक छ,’ उनले भनिन्, ‘त्यसको लागि स्थानीय तहदेखि केन्द्रीय तहसम्मै एकढिक्का भएर काम गर्नुपर्छ।’

बागमती प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठले कांग्रेस बलियो बनाउनको लागि नेपाल विद्यार्थी संघ बलियो हुनुपर्ने बताए। विपी कोइरालाको त्याग र बलिदानलाई विद्यार्थी संगठनले पनि गम्भीर रुपमा सम्झिनुपर्ने उनको भनाइ छ। नेपाली कांग्रेस चितवनका पूर्व सभापति तोपमानसिंह गुरुङले नेपाली कांग्रेसको लागि विद्यार्थी संगठन मेरुदण्ड भएकोले पार्टीले विद्यार्थी संगठनलाई एउटै कित्तामा राखेर पार्टी चलाउनुपर्ने बताए।


नेपाल विद्यार्थी संघ भरतपुर महानगर समन्वय समितिका अध्यक्ष रिजन कौडेलको अध्यक्षतामा सम्पन्न भनेको कार्यक्रममा सहिद परिवारअन्तर्गत भरतपुर १७ का चन्द्रध्वज गुरुङलाई सम्मानपत्र प्रदान गरेको थियो।

तपाईको प्रतिक्रिया