काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा संकट आएको बताएका छन्।

बिहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै श्रेष्ठले यस्तो बताएका हुन्। ‘एकताको संकट भनेको पार्टी एकतामा खतरा भन्ने हो’, पत्रकारले पार्टी एकतामा संकट भनेको के हो भन्दै गरेको प्रश्नको जवाफमा श्रेष्ठले भने, ‘पार्टी एकताको रक्षा गर्नुपर्छ र एकतालाई सुदृढ गर्न अन्तिम अवस्थासम्म छलफल गर्नुपर्छ।’

मन्त्रिपरिषद् निर्णयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमति विपरित संसदको चालु अधिवेशन अन्त्य गरेको भन्दै बैठकमा छलफल भएको थियो। नेताले प्रश्न गरे लगत्तै प्रचण्डले प्रधानमन्त्रीसँग बुझ्दा यो निर्णयले केही नहुने प्रतिक्रिया दिएका थिए। अध्यक्ष ओलीको यो प्रतिक्रिया लगत्तै प्रचण्ड राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका थिए।

प्रचण्डले राष्ट्रपतिसँग मिडियामा सार्वजनिक भएजस्तो कुनै अध्यादेशको आवश्यकता नपरेको बताएका थिए। जवाफमा राष्ट्रपतिले कुनै अध्यादेशको तयारी नभएको प्रष्ट पारेको जानकारी बैठकमा प्रचण्डले गराएको प्रवक्ता श्रेष्ठले पत्रकारसँग बताए।

आजै अधिवेशन अन्त्यको निर्णय भए पनि राष्ट्रपति र प्रधानमन्त्रीले अहिले अध्यादेश नआउने जानकारी गराएको प्रचण्डले बैठकमा बताएको श्रेष्ठको भनाइ छ।

‘बैठकमा चालु बजेट अधिवेशन किन आजै अन्त्य भयो भनेर प्रश्न उठेका छन्। यसले पार्टी एकतामा खतरा आयो’, प्रवक्ता श्रेष्ठले भने, ‘तर संकटबाट पार्टी जोगाउनुपर्छ। त्यसका लागि अध्यक्ष एवम् प्रधानमन्त्री र अध्यक्ष कमरेड प्रचण्डले छलफल गर्नुहुनेछ।’

बैठकमा पार्टी एकतालाई सृदृढ बनाउन छलफलका लागि शुक्रबार एक दिन राखेर शनिबारका लागि मात्र स्थायी कमिटी बोलाइएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

‘यही परिस्थितिको बीचमा पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन ? भन्ने गम्भीर चासोसहित आज बैठकले पुनः पार्टी एकतालाई हर हालतमा रक्षा र सुदृढ गर्न, पार्टी सरकार र राष्ट्रको आवश्यकतालाई पूरा गर्न छलफल आवश्यक गर्नु पर्ने भएकोले पर्सी ११ बजेसम्म बैठक स्थगित भएको छ’, श्रेष्ठ प्रवक्ताले भने, ‘यो विषयमा आज र भोलि अध्यक्ष र अरु जिम्मेवार कमरेडबीचमा छलफल हुनेछ।’

तपाईको प्रतिक्रिया