काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपालले स्कटल्यान्डमा खेल्न लागेको एकदिवसीय शृंखला स्थगित भएको छ। आईसीसीले बिहीबार स्कटल्यान्डमा हुने शृंखला स्थगित गरिएको जनाएको हो। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जुलाईमा तय भएको ६ खेलको एकदिवसीय शृंखला स्थगित भएको हो।

एकदिवसीय शृंखलामा नेपालसहित घरेलु टोली स्कटल्यान्ड र नामिबियाले प्रतिस्पर्धा गर्ने पूर्वनिर्धारित तालिका तय भएको थियो। एकदिवसीय शृंखला जुलाई ४ देखि ११ सम्म तय भएको थियो। यसअघि आईसीसीले नामिबिया र पपुवा न्युगिनीमा तय भएको एकदिवसीय शृंखला पनि स्थगित गरेको थियो। घरेलु टोली नामिबिया, नेपाल र स्कटल्यान्डबीचको शृंखला अप्रिल २० देखि २७ सम्म तय भएको थियो।

यसैगरी नेपाल, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको शृंखला जुन ९ देखि १६ सम्म हुने तय थियो। विश्वकप क्रिकेट लिग– २ प्रतियोगिता सन् २०२३ को विश्वकप छनोट प्रतियोगितामा पुग्ने अवसर हो। सात राष्ट्रबीचको प्रतिस्पर्धाबाट शीर्ष तीन टोलीले सीधै विश्वकप छनोट खेल्न पाउनेछन्।

नेपालले यसअघि एउटा शृंखला खेलिसकेको छ। अमेरिका र ओमानसँगको शृंखलामा नेपालले चार खेल खेल्दै दुईमा जित र दुई खेलमा हार बेहोरेको थियो। नेपाल चार अंकसहित तालिकाको छैटौं स्थानमा छ।

तपाईको प्रतिक्रिया