रोम : पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटाली फर्किएका छन्। इटालियन सिरिए क्लब युभेन्ट्सले नियमित अभ्यासका लागि आफ्ना खेलाडीलाई बोलाएपछि रोनाल्डो पनि पोर्चुगलबाट इटाली फर्किएका हुन्। करिब दुई महिना पोर्चुगलमा बिताएर उनी सोमबार अबेर इटाली आइपुगेका हुन्।

पाँच पटकका ‘बेलन डी ओर’ विजेता ३५ वर्षीय रोनाल्डो आफ्नो व्यक्तिगत जेटमा परिवारसहित इटाली आइपुगेको समाचारमा जनाइएको छ। इटालीमा उनले दुई साता क्वारेन्टाइनमा बिताउनेछन्। त्यसपछि मात्र उनी नियमित अभ्यासमा सहभागी हुनेछन्।

रोनाल्डोले इटालियन सिरिएमा आफ्नो अन्तिम खेल इन्टर मिलानविरुद्घ खेलेका थिए। गत मार्च ८ तारिखमा बन्द रंगशालामा खेलिएको उक्त खेलमा युभेन्ट्सले इन्टर मिलानलाई २—० गोलले हराएको थियो। त्यसपछि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण इटालियन सिरिए पनि स्थगित भएको थियो।

आमा बिरामी भएका कारण त्यसपछि रोनाल्डो पोर्चुगलको माडेइरास्थित आफ्नो घर फर्किएका थिए। युभेन्ट्सले केही दिनअघि नियमित अभ्यासमा सहभागी हुन आफ्ना १० जना विदेशी खेलाडीलाई इटाली बोलाएको थियो। सोही सूचनाका आधारमा अन्य खेलाडीसँग रोनाल्डो पनि इटाली फर्किएका हुन्।

इटालीको सरकारले पनि खेलाडीलाई सामाजिक दूरी कायम राख्दै नियमित अभ्यासमा फर्कन अनुमति दिएको छ। यद्यपि, इटालीमा कोरोना भाइरसको संक्रमण अझै नियन्त्रणमा आइसकेको छैन। इटालीमा कोरोना भाइरसका कारण हालसम्म २९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। दुई लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित छन्।

कोरोना भाइरसको त्रासका कारण इटालियन सिरिए स्थगित हुनुअघि केही टोलीले १२ र केही टोलीले १३ खेल खेल्न बाँकी छ। २६ खेलबाट ६३ अंक जोडेको युभेन्ट्स तालिकाको पहिलो स्थानमा छ। समान खेलबाट ६२ अंक हात पारेको लाजियो तालिकाको दोस्रो स्थानमा आसीन छ। रेलिगेसनमा पर्न सक्ने सम्भावना रहेका टोलीबीच पनि निकै कम अंकको अन्तर देखिन्छ।

युभेन्ट्सले नियमित अभ्यास सुरु गर्नुअघि आफ्ना खेलाडीको कोरोना भाइरस परीक्षण पनि गराउनेछ। फेड्रिको बेनार्डडेस्ची, हुवाँ क्वार्डाडो, कार्लो पिनसोग्लियो, लियोनर्दो बोनुसी र एरोन रामसी भने यसअघि नै इटाली फर्किसकेका छन्। म्याथिज डे लिट र क्लाइस माटुडी भने अझै इटाली फर्कन बाँकी छ। गोन्जालो हिग्वेन भने आमाको स्वास्थ्य समस्याका कारण अझै केही समय अर्जेन्टिनामै रहने छन्।

तपाईको प्रतिक्रिया