चितवन :  विक्रिका लागी अवैध रुपमा चितवन ल्याउदै गरेको भारतीय केरा चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालको ट्रकमा राखेर ल्याउदै गरेको केरा सहित ट्रकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान थालेको छ । आईतवार विहान भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुबाट ना ६ ख ५६१८ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । केरा ब्यवसायी शिव सापकोटाले उक्त केरा ल्याएका हुन । केरा पकाउने चेम्बरमा झार्ने क्रममा प्रहरीले ट्रक सहित केरा नियन्त्रण गरेको हो । कोरोना संक्रमण बढेको बेला भारतीय फलफुल र तरकारी प्रवेशमा रोक लगाएको बेला विक्रिका लागी ल्याएपछि नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्ती राज गुरुङले बताए । ट्रकलाई अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्लामा भारतीय फलफुल तथा तरकारी प्रवेशमा रोक लगाएको थियो । ‘ भारतबाट भित्रिएको केरा त्यसमा पनि क्वारेन्टाईन स्पष्ट नभएको पाइएपछि नियन्त्रणमा लिएका हौ ’ एसपी गुरुङले भने ‘ यसको अनुसन्धान थालेका छौ ’ । भारतीय केराका कारण स्वदेशी उत्पादनले बजार नपाएको केरा उत्पादक संघका निवर्तमान अध्यक्ष विष्णुहरी पन्तले बताए ।

तपाईको प्रतिक्रिया