लिस्बोन : आफ्नो टोलीका खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो आफ्नै घरमा ‘सेल्फ क्‍वारेन्टाइन’ मा बसेका छन्।इटालियन क्लब युभेन्टसका खेलाडी ड्यानियल रुगानीमा कोरोना संक्रमण  पुष्टि भएको द सनले उल्लेख गरेको छ।

रोनाल्डोले आइतबार इन्टर मिलानविरुद्ध खेल्ने क्रममा रुगानीसँग एउटै ‘ड्रेसिङ रुम’ प्रयोग गरेका थिए। रुगानीसँगको नजिक सम्पर्क कारण उनलाई समेत कोरोना संक्रमण हुन सक्ने आशंकामा उनलाई क्‍वारेन्टाइनमा राखिएको हो।

आइतबार भएको खेल युभेन्टसले २–० ले आफ्नो पक्षमा पारेको थियो।

चीनको वुहानबाट गत डिसेम्बरदेखि फैलिएको कोरोना भाइरस अहिले विश्वका ११८ देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ। विश्वभर १ लाख २५ हजार २८८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ४ हजार ६१४ जनाले ज्यान गुमाइसकेका छन्।

तपाईको प्रतिक्रिया