चितवन, २५ पुस
पूर्वी चितवनमा रत्ननगर महोत्सव सुरु भएको छ । टिकौली चौरमा शुक्रवारदेखी १०औँ रत्ननगर महोत्सव २०७६ सुरु भएको छ । महोत्सवको उद्घाटन पूर्वअर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले गरेका हुन ।

महोत्सव आगामी माघ ७ गतेसम्म सञ्चान हुनेछ । कार्यक्रममा रत्ननगर महोत्सवका मूल संयोजक एवम् उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले  चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धनमा रत्ननगर महोत्सवले विशिष्ट महत्व बोकेको बताउनुभयो ।

महोत्सव अवधिभर व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, प्लान्ट क्लिनिक, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई जोड दिइएको छ ।

माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर छन ।

स्वदेशी तथा विदेशीगरि महोत्सवमा ५२१ वटा स्टल रहेको छ भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ ।

महोत्सवको उद्घाटन पूर्व नेपाल माविको परिसरबाट विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।

तपाईको प्रतिक्रिया