काठमाडौँ ३१ असार । पछिल्लो एक हप्ता नेपाली चलचित्रको बजार निर्माता छविराज ओझा र अभिनेत्री तथा उनकी धर्मपत्नी शिल्पा पोखरेलको झगडाले तताएको छ । सामान्य भनाभनपछि सुरु भएको नीहरूको झगडा यतिमाथि पुगेको छ कि अब शिल्पा छविको घर फर्किने सम्भावना छैन । छविको मनमा समेत आशा मर्दै गएको छ ।

छविराज र शिल्पाको बिहे भएको तीन वर्ष पुरा भएको छ । उनीहरूको बिहे २०७३ असार २९ मा भएको थियो । तर उनीहरुलेसँगै रहेर तेस्रो वैवाहिक वर्षगाँठ मनाउन पाएनन् । लगभग २५ दिनअघि घर छोडेकी शिल्पालाई वैवाहिक वर्षगाँठको अवसरमा उनका श्रीमान् छविराजले ‘हृयाप्पी थर्ड एनिभर्सरी’ भनेर म्यासेज पठाए, शिल्पाको मोबाइलमा । यति मात्रै होइन उनले म्यासेजमा आउनुस् बसौँ, विगतका कुराहरू बिर्सिएर नयाँ किसिमले जिन्दगीको सुरुवात गरौँ समेत भनेका छन् । तर, शिल्पाको रिप्लाई आएन । हिजो मात्रै उनीहरूको फोनमा कुराकानी भएको छ । कुराकानीमा छविले ‘तपाईँ भएको स्थानमै आउँछु, बसेरै कुराकानी गरौँ’ भने । तर, शिल्पाले ‘म भेट्न सक्दिन,मेरो वकिलले भेट्छ’ भनेर जवाफ फर्काइन् ।

उनीहरूको पछिल्लो गतिविधि नियाल्ने हो भने वैवाहिक सम्बन्धमा पूर्णविराम लाग्ने संकेत देखिएको छ । शिल्पाले छविसँग डिभोर्सको प्रक्रिया थालिसकेकी छिन् । तर, छविले शिल्पालाई घरको ढोका खुलै रहेको बताएका छन् । ‘५२ वर्षको उमेरमा ३ जना श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेपछि शिल्पासँग जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सबै थोक कम्प्रमाइज गरेर बिहे गरेको श्रीमती हो’, छविले भने,‘यदि शिल्पा पनि आफूलाई सच्याएर, बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु ।’ उनले शिल्पालाई अरूका कुरा नसुन्न र घर फर्किन आग्रह गरेका छन् ।

असार ८ गते छवि र शिल्पाबीच झगडा सुरु भएको हो । ११ बजे शिल्पा घरबाट निस्किइन् । ५ बजे पुनः घर आइन् । र, आफ्ना कपडा लिएर फेरी आफन्तकोमा फर्किइन् । त्यसको दुई हप्तापछि २२ गते टेकु प्रहरीले शिल्पाले घरेलु हिंसा अन्तर्गत उजुरी हाले पश्चात् छलफलका लागि छविलाई बोलायो । यस घटनापछि मात्र मिडियामा उनीहरुबीच बढिरहेको खटपट पहिलो पटक बाहिरिएको हो ।

तपाईको प्रतिक्रिया